काठमाडौं, साउन २३ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, नगरपालिका–६ मा निर्माण गरिएको नालाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि, विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
उजुरीको आधारमा बर्दिबासस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले बिचौलियामार्फत लिएको घुस रकमसहित मेयर साहलाई नियन्त्रणमा लिएको थियो।
थप अनुसन्धानबाट पक्की नाला निर्माणपछिको भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा मेयर साहले सेवाग्राहीसँग घुस मागेको र लिएको प्रमाण भेटिएको अख्तियारको दाबी छ।
प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार एक लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गर्दै शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।




















