काठमाडौं, साउन २३ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको जानकारी दिएकी छन् ।
उनका अनुसार बाढीपछि नेपालीहरू सम्पर्कविहीन भएको समाचार आउनासाथ भारत सरकारसँग समन्वय गर्न दिल्लीस्थित नेपाली राजदूतावासलाई तत्काल निर्देशन दिइएको हो। मन्त्री राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै घटनाबाट आफू अत्यन्त दुःखी भएको उल्लेख गरेकी छन्।
‘हराएका नेपाली नागरिकहरूको खोजी र उद्धारका लागि भारत सरकारसँग समन्वय गर्दै राजदूतावासले तत्काल तदारुकताका साथ काम अघि बढाएको छ,’ उनले लेखेकी छन्। साथै, उनले विपद्मा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेकी छन्।
साउन २० गते भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा आएको आकस्मिक बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। हाल घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको भारतीय पक्षले जनाएको छ।
घटनामा परी हालसम्म कम्तिमा २२ जना नेपाली सम्पर्कविहीन रहेको जानकारी छ। जसमध्ये १३ जना जाजरकोट, ४ जना धादिङ, ४ जना बर्दिया र १ जना जुम्लाका रहेको सम्बन्धित पालिकाका जनप्रतिनिधिहरूले जनाएका छन्।




















