काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीपहिरोमा नेपाली नागरिकसमेत परेको खबरप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले त्यहाँ फसेका नेपालीहरुको उद्धारका लागि दूतावासमार्फत कूटनीतिक पहल गरिएको जानकारी दिएका छन् ।
तुर्कमेनिस्तान भ्रमण सकेर स्वदेश फर्किंदै गरेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको दुःखद समाचारले मलाई चिन्तित बनाएको छ। बाढीमा कम्तीमा १७ जना नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्धारका लागि तत्कालै दूतावासमार्फत कूटनीतिक समन्वय गरिएको छ।”
प्रधानमन्त्री ओलीले बाढीपहिरोमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।
प्राप्त जानकारीअनुसार, जाजरकोटको कुशे गाउँपालिकाका १३ जना र बर्दिया मधुवनका ४ जना गरी कम्तिमा १७ जना नेपाली नागरिक उत्तराखण्डको विपद्मा परेका छन्।
यस्तै, जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गर्दै गाउँका १३ जना नेपाली बेपत्ता भएको जानकारी सार्वजनिक गरेका छन्।
नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा २० साउनमा आएको एक्कासी बाढी र पहिरोका कारण धराली लगायतका बस्तीहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती क्षेत्रमा काम गर्न गएका नेपालीहरू समेत प्रभावित भएको बताइएको छ। हाल भारतीय सेना र विपद् उद्धार टोलीहरू सक्रिय रूपमा खोज तथा उद्धार कार्यमा जुटिरहेका छन्।



















