काठमाडौं, साउन २२ । नेकपा एमालेले निर्वाचन आयोगद्वारा तयार पारिएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को मस्यौदाप्रति स्पष्ट असहमति जनाएको छ ।
निर्वाचन आयोगलाई पठाइएको पत्रमा एमालेले राजनीतिक दलको मूल्यांकन दलकै आन्तरिक विषय भएको भन्दै आयोगको प्रस्तावित कार्यविधि स्वीकार गर्न नसकिने स्पष्ट पारेको हो।
एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टीका महासचिव शंकर पोखरेलले आज आयोगलाई पत्र लेखेर यसबारे असहमति जनाएका हुन्।
पत्रमा भनिएको छ, “राजनीतिक दलहरूको मूल्यांकन जनताको जनादेशमार्फत हुनुपर्ने विषय हो। नेपालको संविधानको भाग २९ को धारा २६९ देखि २७२ सम्मका व्यवस्थाले राजनीतिक दलको गठन, दर्ता र सञ्चालन दलको स्वायत्तता तथा स्वतन्त्रताको मर्मअनुसार हुने उल्लेख छ। त्यसैले स्वमूल्यांकन राजनीतिक दलकै आन्तरिक विषय हो र यो स्वनियमनमा चल्नुपर्ने हो।”
निर्वाचन आयोगले राजनीतिक दलहरूको सञ्चालन, मूल्यांकन, रेखदेख र निर्देशन गर्ने उद्देश्यसहित सचिवको नेतृत्वमा समिति गठन गर्ने प्रावधानसहितको कार्यविधि मस्यौदा तयार पारी राजनीतिक दलहरूलाई हालै पठाएको थियो।
मस्यौदाको दफा ५ मा “राजनीतिक दलको स्वमूल्यांकन प्रणालीको सञ्चालन, रेखदेख र निर्देशन गर्न मूल्यांकन समिति रहने” व्यवस्था गरिएको छ।
तर एमालेले सो प्रस्ताव सैद्धान्तिक रूपमा अस्वीकार्य भन्दै आयोगलाई मस्यौदाबारे पुनर्विचार गर्न सुझाव दिएको छ।
























