काठमाडौं, साउन २२ । भारतीय विदेश सचिव विक्रम मिश्री आगामी भदौ १ गते (अगस्ट १७) नेपाल भ्रमणमा आउने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मिश्रीको काठमाडौं भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत यात्राको तयारीका सन्दर्भमा हुन लागेको हो।
नेपालमा बसाइका क्रममा मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
स्रोतका अनुसार भ्रमणको दौरानमा दुई पक्षीय सम्बन्धका विविध पक्षहरू र प्रधानमन्त्री ओलीको भारत भ्रमणका तयारीबारे महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत जाने तयारीमा छन्। यसअघि साउनको सुरुवातमा प्रधानमन्त्री कार्यालय स्रोतले ओलीको भ्रमण भदौ ३१ गते हुने संकेत दिएको थियो।
भारत–नेपाल सम्बन्धका सन्दर्भमा उच्चस्तरीय राजनीतिक संवादलाई निरन्तरता दिने प्रयासस्वरूप मिश्रीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ।

























