बुटवल, साउन २२ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त गराउन माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् ।
लामिछानेले आफू राजनीतिक प्रतिशोधका आधारमा थुनामा परेको दाबी गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गरिनुपर्ने माग गरेका हुन्। उनले आफू सहकारी ठगीमा संलग्न नरहेको र आफ्ना नाममा परेको बिगो रकम बैंक जमानतमार्फत बुझाउन तयार रहेको उल्लेख गरेका छन्।
रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार लामिछानेको सचिवालयले १९ साउनमा निवेदन दर्ता गरे पनि यो विषय तीन दिनसम्म गोप्य राखिएको थियो। डा. शर्माले बिहीबार (२२ साउन) मात्रै उक्त निवेदनबारे जानकारी पाएको बताएका छन्।
लामिछाने यसअघि पनि सुप्रिम सहकारी प्रकरणमा ८४ दिन हिरासतमा बसेर रिहा भएका थिए। त्यसपछि २५ दिन बाहिर रहे पनि उच्च अदालतको आदेशमा पुनः थुनामा पठाइएको हो। यसअघि रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उच्च अदालतले त्यसलाई उल्ट्याएको थियो।
लामिछाने चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका छन्। उनले कारागार सारेर काठमाडौं पठाइदिन आग्रह गरे पनि गृह मन्त्रालयले अनुमति दिएको छैन।
उनले अदालतमा दिएको निवेदनमा थुनाबाट मुक्त गरि तारिखमा राख्न सकिने वैधानिक प्रावधानका आधारमा निर्णय गर्न आग्रह गरिएको छ। अब अदालतले निवेदनमाथि कहिले र कस्तो निर्णय लिन्छ भन्ने प्रतीक्षा गरिएको छ।

























