चितवन, साउन २१ । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरिएको छ । श्रेष्ठले गत साउन १० गते विद्युत आपूर्ति कटौतीसम्बन्धी एक दिने सूचना सार्वजनिक गरेका थिए, जसले लोडसेडिङको झल्को दिनेगरी चर्चा पाएको थियो भने प्राधिकरण नेतृत्वको तीव्र आलोचना भएको थियो ।
प्राधिकरणले श्रेष्ठलाई पूर्वी नवलपरासीस्थित कावासोती वितरण केन्द्रमा सरुवा गरेको हो । कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड (ग) अनुसार उनको सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।
लोडसेडिङजस्तै तालिका प्रकाशन गरिएको विषयमा चनौली वितरण केन्द्रका प्रमुख श्रेष्ठले मागअनुसार विद्युत आपूर्ति नहुँदा विकल्पस्वरूप सूचना जारी गरेको बताएका थिए । तर प्राधिकरणले यस कदमलाई असान्दर्भिक ठहर गर्दै चनौलीमा देखिएको समस्या समाधान गर्न कदम चालेको हो ।
घटनापछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य साउन १२ गते चितवन पुगेका थिए । चनौली वितरण केन्द्र निरीक्षणका क्रममा केन्द्र प्रमुख श्रेष्ठ कार्यालयमा उपस्थित नरहेको बताइएको छ । त्यसपछि शाक्यले अन्य इन्जिनियरहरूसँग परामर्श लिएका थिए ।
पश्चिम चितवनका माडी, जगतपुर, शुक्रनगर, विजयनगर, रामपुरसहित पूर्वी चितवनका केही स्थानहरूमा देखिएको विद्युत आपूर्तिको समस्या साउन १३ गतेदेखि समाधान भएको प्राधिकरणले जनाएको छ ।

























