जनकपुरधाम, साउन २१ । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुरमा मदिरा तस्करी गर्ने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ ।
गोप्य सूचनाका आधारमा मदिरा तस्करी भइरहेको भन्ने जानकारी पाएपछि प्रहरी टोली कमलपुर पुगेको थियो । त्यहाँ पुगेपछि तस्कर समूहले प्रहरीमाथि आक्रमण गरेको थियो । आत्मरक्षाको लागि प्रहरीले चलाएको गोली लागेर स्थानीय लालु यादव गम्भीर घाइते भएका थिए ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार यादवको तिघ्रामा गोली लागेको थियो। उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भयो ।
प्रहरीले दिएको जानकारी अनुसार झडपमा एक जना प्रहरी पनि ढुंगामुढाबाट घाइते भएका छन्। प्रहरीले गोली चलाएपछि तस्कर समूह केही कार्टुन मदिरा छाडेर भागेको र ती मदिरा बरामद गरिएको छ ।

























