काठमाडौं, साउन २० । संघीय निजामती सेवा विधेयकमा उल्लेख गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई बुझाएको छ।
प्रतिवेदन समितिका संयोजक तथा कांग्रेस सांसद जीवन परियारले सभामुख घिमिरेलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
विधेयकको एक प्रावधानमा गरिएको संशोधन तथा त्यसबाट उत्पन्न विवादको अध्ययन गर्न गठित सात सदस्यीय समितिले २९ दिनको कार्यकालमा सरोकारवालासँग व्यापक छलफल र अनुसन्धान गरी ११६ पृष्ठ लामो प्रतिवेदन तयार पारेको हो।
समितिले अध्ययन अवधि भर ३७ वटा बैठक सम्पन्न गरेको थियो। प्रतिवेदनमा विधेयक निर्माण प्रक्रियामा भएको सम्भावित त्रुटि, प्रक्रिया अवलम्बन, र कानुनी मर्ममा गरिएको छेडखानीसम्बन्धी विषयमा विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ।
उक्त समितिमा विभिन्न राजनीतिक दलका सांसदहरू सहभागी थिए:
कांग्रेस : जीवन परियार (संयोजक) र सुशीला थिङ
एमाले : ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य
माओवादी केन्द्र : माधव सापकोटा
रास्वपा : गणेश पराजुली
राप्रपा : रोशन कार्की
संसद्मा गत असार २३ गते संघीय निजामती सेवा विधेयक पारित गरिँदा “कुलिङ अफ पिरियड” को प्रावधानमा गरिएको संशोधनले विवाद उत्पन्न भएपछि प्रतिनिधिसभाले उक्त विशेष समिति गठन गरेको थियो।
























