काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) विकल्पका कारण नभई बाध्यताले अलग रहेको बताएका छन्।
तुर्कमेनिस्तानको अवाजा सहरमा जारी एलएलडिसी समूहको सम्मेलन अन्तर्गतको साइड इभेन्टमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। प्रधानमन्त्रीको भनाइ उनका प्रमुख सल्लाहकार विष्णु रिमालले उद्धृत गरेका हुन्।
प्रधानमन्त्री ओलीले भौगोलिक असहजता समाधानका लागि ‘कनेक्टिभिटी नै न्याय हो’ भन्ने धारणा व्यक्त गरे। उनले तटीय राष्ट्रहरूसँग अन्तरदेशीय पहुँचका साधनहरू (कुञ्जीहरू) रहेको उल्लेख गर्दै त्यसलाई खोल्नु उनीहरूको कर्तव्य भएको बताए।
‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ। खोल्नु अनुग्रह होइन, कर्तव्य हो,’ प्रधानमन्त्री ओलीले भने, ‘अवरोधलाई नवप्रवर्तनमा रूपान्तरण गरौं, र यसलाई साझा समृद्धिको इन्जिन बनाऔं।’
एलएलडिसी (Landlocked Developing Countries) समूहको अध्यक्ष राष्ट्रका रूपमा नेपाल सहभागी भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले विकासशील भूपरिवेष्ठित राष्ट्रहरूको साझा आवाज बुलन्द गरेका हुन्।
























