काठमाडौं, साउन २० । संघीय निजामती सेवा विधेयकमा उल्लेखित ‘कुलिङ पिरियड’ सम्बन्धी गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई बुझाएको छ।
लामो समयको छलफल र समन्वयपछि तयार पारिएको उक्त प्रतिवेदन आज बिहान सर्वसम्मत रूपमा पारित गरिएको हो। त्यसपछि नयाँबानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा आयोजित विशेष कार्यक्रममा समितिले प्रतिवेदन सभामुखलाई हस्तान्तरण गरेको संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिवेदन तयार गर्नका लागि आइतबारदेखि सोमबारसम्म निरन्तर छलफल भएको थियो । प्रारम्भिक चरणमा सहमति जुट्न नसके पनि रातभरको गहन छलफलपछि आज बिहान ४ बजे अन्ततः सर्वसम्मति हासिल भएको हो ।
प्रतिवेदनमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ‘कुलिङ पिरियड’ सम्बन्धी गडबडीको मुख्य जिम्मेवार बनाइएको छ ।
छानबिन समिति कांग्रेस सांसद जीवन परियारको अध्यक्षतामा गठन गरिएको हो । समितिमा कांग्रेसकी सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की सदस्यका रूपमा रहेका छन्।

























