काठमाडौं, साउन २० । दुईवटा फरक मुद्दामा संलग्न रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ।
महान्यायाधिवक्ताको कार्यालयले आदेशको अध्ययन गरी कानुनी रायसहित प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको छ।
महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता उद्धव पुडासैनीका अनुसार उक्त आदेश वर्तमान कानून र न्यायिक सिद्धान्तहरू विपरीत रहेको निष्कर्षसहित सर्वोच्चमा पुनरावलोकनका लागि निवेदन दर्ता गरिनेछ।
‘दुवै आदेशहरू न्यायिक सिद्धान्त र कानुनी प्रावधान विपरीत छन् भन्ने हाम्रो निष्कर्ष छ,’ पुडासैनीले भने, ‘यस प्रकारको आदेशले विधिको शासनलाई कमजोर बनाउने हुँदा हामी सर्वोच्च अदालतमा पुनरावलोकनको माग गर्दै जाने तयारीमा छौं।’
उक्त प्रयोजनका लागि आवश्यक आदेश तथा सम्बन्धित फाइलहरूको अध्ययन गरेर प्रतिवेदन तयार पार्न उच्च सरकारी वकिलको कार्यालयलाई निर्देशन दिइएको हो।
उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।
उच्च अदालत, पाटनले सोमबार नै उनलाई चैत १५ मा तीनकुने काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा समेत धरौटीमा छाड्न आदेश दिएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।
काठमाडौं अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि प्रसाईं डिल्लीबजार कारागारमा थिए । त्यहीबीच उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । यो आदेशको विस्तृत विवरण आइसकेको छैन ।
उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएपछि सोमवार राती प्रसाईंलाई रिहा भएका छन् ।
रिहा भएपछि प्रसाईले आफूले देश र जनताका लागि काम गरेको र त्यो नछाड्ने बताएका छन् । उनले तरिका र शैली बदल्ने तर स्वभाव परिवर्तन नगर्ने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल फेसवुकमा उनले लेखेका छन् –“सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु । सर्वप्रथम त यस अवधिमा साथ, सहयोग र हौसला प्रदान गर्ने देश तथा बिदेशमा रहनुभएका समस्त नेपालीजनमा हार्दिक आभार व्यक्त गर्दछु । जिल्ला अदालतको आदेशले कारागार चलान गर्दा पनी म अदालतको आादेशलाई शिरोपर गर्दै खुशी साथ नै कारागार गएको थिएँ, आज उच्च अदालतको आदेशबाट रिहाई हुँदा पनी देश निर्माणको भावी योजनाका साथ म घर फर्किदै छु । न्याय मरेको छैन भन्ने आभाष दिलाउनुहुने समस्त श्रीमान सहित अदालत परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मेरा लागी सारा नेपाल मेरो घर हो,कारागार पनी मलाई घर भन्दा फरक लागेन । कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, कारागारमा रहनुभएका सबै साथीहरुमा समेत हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु ।
म मेरो लागी हैन देशकै लागी थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागी मन बचन र कर्मले लाग्ने मेरो स्वभाव परिवर्तन हुनेछैन । फेरीपनी हृदयको अन्तस्करण बाट सबैमा धेरै आभार । धन्यवाद !”

























