काठमाडौं, साउन १९ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालमा एक १८ वर्षीया युवती आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । सम्झना भट्टको मृत्युलाई लिएर हत्या भएको आशंका माइती पक्षले गरेको छ ।
घटनापछि सम्झनाका २४ वर्षीय पति पवन भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहोराका अनुसार, घटनाको प्रकृति शंकास्पद देखिएको छ र अनुसन्धान अघि बढाइएको छ।
“मृतकको शरीरमा ठूलो गहिरो चोट नभए पनि नङले खोपेको जस्ता आन्तरिक चोटपटक देखिन्छ,” डीएसपी बोहोराले भने, “उनका श्रीमान् पवनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। साथै, माइती पक्षलाई पनि छलफलका लागि बोलाइएको छ।”
परिवारका अनुसार सम्झना आइतबार साँझ घरको कोठामा झ्याल र ढोका चुकुल लगाएर झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको शव अहिले महाकाली अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।
सम्झना र पवनबीच गत फागुनमा प्रेम विवाह भएको थियो। सम्झना कक्षा १२ मा अध्ययनरत किशोरी थिइन्। प्रहरीका अनुसार उनी १७ वर्षकी मात्र थिइन्, भने पवन २४ वर्षका छन्।
माइती पक्षले विवाहपछिदेखि सम्झनालाई मानसिक तथा शारीरिक यातना दिइएको आरोप लगाएका छन्। प्रहरी स्रोतका अनुसार उनीहरूको सम्बन्धमा विवाह अघिदेखि नै विवाद थियो । गत मंसिरमा जिल्ला प्रहरी कार्यालयको महिला सेलामा विवाद समाधान गरिएको थियो भने, घटना हुनुअघि पनि उनीहरूबीच झगडा भएको र इलाका प्रहरी कार्यालय बेलडाँडीमा पुगेको जानकारी छ ।
“दुवैलाई सम्झाएर पठाइएको थियो,” एक प्रहरी अधिकारीले बताए, “भोलिपल्टै युवतीको शव घरमा भेटियो।”
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर निष्पक्ष अनुसन्धान गरिने प्रतिबद्धता जनाएको छ। “पोस्टमार्टमको रिपोर्टपछि घटनाको वास्तविकता स्पष्ट हुनेछ,” डीएसपी बोहोराले बताए ।





















