काठमाडौं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान गरेसँगै सरकार र पार्टी दुवैको नेतृत्वमा कार्यवाहक व्यवस्था गरिएको छ ।
प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यहरू सञ्चालन गर्न उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ । राष्ट्रपति कार्यालयका अनुसार यो जिम्मेवारी नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक दिएका हुन् ।
यता, नेकपा (एमाले) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको विदेश भ्रमणका कारण पार्टी नेतृत्व पनि कार्यवाहक व्यवस्थामा पुगेको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
गौतमका अनुसार यो व्यवस्था एमाले विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) अनुसार गरिएको हो। उक्त धाराले अध्यक्ष अनुपस्थित भएको अवस्थामा वरिष्ठ उपाध्यक्षले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्ने व्यवस्था गरेको छ।
प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।
























