काठमाडौं, साउन १९ । संघीय निजामती सेवा विधेयकमा भएको त्रुटि सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको बैठक आज बिहानैदेखि जारी छ । समितिका सदस्यहरू हिजो राति अबेरसम्म छलफलमा सहभागी भई आज बिहान ७ बजेदेखि पुनः बैठकमा जुटेका छन् ।
हिजो नै समितिको कार्यकाल सकिएको भए पनि, बैठकको निरन्तरताका रूपमा आजको छलफल भइरहेको छ। समितिले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गर्ने तयारी गरिरहेको छ। समितिका सभापति जीवन परियारका अनुसार प्रतिवेदनलाई अन्तिम रूप दिन वर्तमान बैठक केन्द्रित छ।
हिजोको छलफलमा सत्तापक्षीय सांसदहरूले प्रमुख विपक्षी दल एमाले र नेपाली कांग्रेसका नेताहरूसँग संवाद गरेका थिए। एमालेका प्रमुख सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे छलफलमा सहभागी थिए। संवाद एमाले संसदीय दलको कार्यालयमा भएको थियो, जसमा समितिलाई थप समय आवश्यक छ वा छैन भन्ने विषयमा समेत चर्चा भएको थियो।
महेश बर्तौलाले समितिको कामको प्रगति र निष्कर्षबारे सामान्य छलफल मात्र भएको बताएका छन्। उनका अनुसार समितिले म्याद थपको औपचारिक आग्रह भने गरेको छैन।
संघीय निजामती सेवा विधेयकमा २ वर्षे कुलिङ पिरियडको व्यवस्था राख्ने सहमति पहिल्यै भइसकेको थियो। तर, विधेयकमा ‘निष्कृय हुने’ जस्तो विवादास्पद भाषा प्रयोग भएको भन्दै २३ असारमा छानबिन समिति गठन गरिएको हो।
समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो भने पछि थप एक साता म्याद थपिएको थियो। उक्त अवधि हिजो १८ साउनमा सकिएको हो।
छानबिन समितिको नेतृत्व कांग्रेस सांसद जीवन परियारले गरिरहेका छन्। सदस्यहरूमा कांग्रेसबाट सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन्।
























