काठमाडौं, साउन १८ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका जनसंगठनहरूलाई केन्द्रीय कमिटीका निर्णयअनुसार सक्रिय र एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।
शनिबार साँझ बालुवाटारमा बसेको जनसंगठन संयन्त्रको बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्बन्धी विषयमा पार्टीले पहिल्यै संस्थागत निर्णय गरिसकेको उल्लेख गर्दै उनलाई पूर्वराष्ट्रपतिको मर्यादाअनुरूप सम्मान गर्नुपर्ने कुरा पुनः स्पष्ट पारेका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार ओलीले भने, “निर्णय भनेको निर्णय नै हो, अब त्यसको कार्यान्वयनमा दायाँबायाँ नगरी एकता कायम गर्दै अघि बढ्नुपर्छ। हाम्रो सम्पूर्ण ध्यान ‘मिसन ८४’ मा केन्द्रित हुनुपर्छ।”
ओलीले जनसंगठनहरूमा गैरपार्टी सदस्यहरूलाई पनि समेटेर लैजानुपर्नेमा विशेष जोड दिएका थिए ।
मानवाधिकार एलायन्सका इन्चार्ज विष्णु रिजालले सामाजिक सञ्जालमार्फत बैठकको जानकारी दिँदै लेखेका छन्, “अध्यक्ष कमरेडले भन्नुभयो—व्यक्तिको भनाइ होइन, संस्थागत निर्णय नै जनसंगठन सञ्चालनको आधार हुनुपर्छ ।”
जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले पनि पार्टीको विधान, प्रक्रिया र अनुशासनअनुसार संगठन सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।
२३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिवहरूको उपस्थिति रहेको बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णयहरूको स्पष्ट व्याख्या गर्दै कार्यान्वयनमा समान बुझाइ बनाउने प्रयास गरिएको थियो ।

























