गाजापट्टी । इजरायली सेनाले शनिबार गरेको हवाई हमला र गोलीबारीमा गाजामा कम्तीमा २० जना मारिएको गाजाका स्वास्थ्य अधिकारीले जनाएका छन् । जसमा ८ जना खाद्यान्नको खोजीमा आएकाहरू पनि परेको बताइएको छ । उक्त हमलामा घाइते भएका ३६ जनालाई सहायता वितरण केन्द्रबाट मध्य गाजाको अस्पतालमा पुर्याइएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मध्य र दक्षिणी गाजामा शनिबार भएको दुई छुट्टाछुट्टै हमलामा १० जना मारिएको गाजास्थित स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै एपीले जनाएको छ । नासेर अस्पतालले विस्थापितहरू आश्रय लिएर बसिरहेका पालमा गरिएका हमलामा ५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । अर्को हमलामा, खान युनिसको मुख्य सडक नजिकै बसेका ती विस्थापितको पालमा हमला हुँदा दुई दाजुभाइ र एक आफन्तको मृत्यु भएको समाचारमा छ । खान युनिसमै बन्द एक कारागारको गेट नजिकै आश्रय लिएर बसिरहेका विस्थापितहरू लक्षित अर्को एक हमलामा परी एक आमाछोरीको मृत्यु भएको बताइएको छ ।
त्यसैगरी, जावाइदा र देयर अल–बलाहबीचको एउटा घरमा पनि इजरायली सेनाले हमला गर्दा दुई अभिभावक सहित उनीहरूका तीन बच्चाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको एम्बुलेन्स र आपत्कालीन सेवाले बताएको छ । रफाहमा नवनिर्मित मोराग करिडोर र खान युनिसको बीचमा सहायता पर्खिरहेका भीडमा इजरायलको सेनाले गोली चलाउँदा अन्य ५ जना प्यालेस्टिनी पनि मारिएको अस्पतालले बताएको छ ।
इजरायलको सेनाले सहायता स्थल नजिकैको हमलाबारे तत्काल जवाफ दिएको छैन । यद्यपि, उसका शीर्षस्थ सैनिक जनरलले शनिबार आफ्ना बन्धकहरू रिहा नभएमा ‘लडाइँ जारी रहने’ चेतावनी दिएका छन् । लेफ्टिनेन्ट जनरल इयाल जामिरले युद्धविरामका लागि हमासमाथि दबाब कायम राख्न पनि इजरायलको सेनाले आक्रमण गर्नुपरेको तर्क गरेका छन् ।
यस क्षेत्रमा हवाई तथा स्थलमार्गबाट हुने सहायता वितरणमा इजरायलले प्रतिबन्ध लगाएका कारण स्थानीय प्यालेस्टिनीहरूले गम्भीर खाद्यान्न संकटको अवस्था झेलिरहेका छन् । शनिबार पनि गाजा मानव सहायता प्रतिष्ठान (जीएचएफ) को वितरण स्थल नजिकै खाद्य सहायता लिन आएका प्यालेस्टिनीलाई लक्ष्यित गर्दै गोली चलाइँदा स्थिति भयावह बनेको प्रत्यक्षदर्शीको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीले जनाएको छ । ‘गोली लागेर घाइते भएका ३ जनालाई त्यहाँबाट बाहिर निकाल्न सहयोग गरेको थिएँ, तर त्यस वरपर रक्ताम्य अवस्थामा भुइँमा छट्पटाइरहेका अरू थुप्रै घाइते पनि देखिरहेको थिएँ,’ उक्त घटनाका प्रत्यक्षदर्शी बताउने स्थानीय याहिया युसेफले एपीलाई भने, ‘त्यसबेलाको दृश्य निकै आतंकित बनाउने खालको थियो, यस्ता परिदृश्य यहाँका प्यालेस्टिनीका लागि हरेक दिनको नियति बनिरहेको छ ।’
गाजापट्टीमा पछिल्लो २४ घण्टामा भोकमरीसम्बन्धी कारणले ७ जना प्यालेस्टिनीले ज्यान गुमाएको गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार उल्लेख गरेको छ । ज्यान गुमाउनेमा एक बालबालिका पनि रहेको मन्त्रालयले जनाएको छ ।
देशको उत्तरी क्षेत्रस्थित इजरायल समर्थित अमेरिकाका चार सहायता वितरण केन्द्रमा निरन्तर गोलीबारी भइरहेको भन्ने प्रत्यक्षदर्शीको भनाइप्रति भने जीएचएफले आफ्ना वितरण केन्द्रहरूमा वा त्यस नजिक कुनै पनि हमला वा हताहती नभएको जिकिर गरेको छ । त्यसो त गाजामा भइरहेको मानवीय सहायता वितरणलाई अमेरिकी राजदूत माइक हकबीले शुक्रबार मात्रै ‘अविश्वसनीय उपलब्धि’ भन्दै टिप्पणी गरेका थिए । तर एक दिनपछि नै १८ जनाको हताहती हुने गरी हमला भएको हो । अन्तर्राष्ट्रिय समुदायले प्रदान गरेका खाद्यान्न तथा मानवीय सहायता बोकेका सवारीसाधनलाई गाजामा प्रवेशका लागि इजरायलले कडिकडाउ गर्दै आएपछि यस क्षेत्रका प्यालेस्टिनीले भोकमरीको सामना गर्नुपरिरहेको संयुक्त राष्ट्रसंघले बारम्बार उल्लेख गर्दै आइरहेको छ । सहायता सामग्री पुर्याउने समूहको प्रयासमा हिंसात्मक घटनाले बारम्बार अवरोध हुन थालेपछि अन्तर्राष्ट्रिय समुदाय इजरायली रबैयाप्रति आक्रोशित छ ।
भोकमरीसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञहरूले भने गाजामा सहायता खोज्नेहरूले संकटको सामना गर्नुपरिरहेको भन्दै यस साता भोकमरीको सबैभन्दा खराब परिदृश्य रहेको बताएका छन् । इजरायलले हमासविरुद्ध सैन्य कारवाही थालेको पछिल्लो २२ महिनामा झन्डै २० लाख प्यालेस्टिनी बसोबास गर्ने गाजा क्षेत्रमा सुरक्षाको अवस्था दयनीय बन्दै गएको र आवश्यक खाद्यान्न आपूर्तिमा अवरोध पुर्याइँदा यस क्षेत्रका सर्वसाधारणले चरम भोकमरीको सामना गर्नु परिरहेको एपीले जनाएको छ ।
इजरायल र हमासबीचको लडाइँ सुरु भएदेखि गाजापट्टीमा भोकमरी तथा कुपोषणसम्बन्धी विविध कारणले कम्तीमा ९३ बालबालिकाको मृत्यु भइसकेको बताइएको छ । साथै, प्यालेस्टिनको स्वास्थ्य मन्त्रालयले गत जुन महिनाको अन्त्यदेखि गरेको गणनाअनुसार कुपोषणका कारण ७६ जना वयस्कले पनि ज्यान गुमाएका छन् । त्यसैगरी, जीएचएफका सहायता वितरण केन्द्रमा राहत लिन जाने भीडमाथि चलाइएको गोलीका कारण गत मे २७ देखि जुलाई ३१ सम्ममा ८ सय ५९ जना मारिएको संयुक्त राष्ट्रको बिहीबार प्रकाशित प्रतिवेदनमा उल्लेख छ । साथै खाद्य सामग्री लिएर गाजा जाने सवारीसाधनहरूको सडकमार्गमा पनि खाद्यान्न लुटपाट गर्न खोज्नेलाई लक्षित गर्दै चलाइएका गोली लागेर सयौं मारिएका छन् ।
जीएचएफले भने सहायता वितरण केन्द्रमा चेतावनीस्वरूप अश्रुग्यासको मात्र प्रयोग गर्ने गरेको र भीड हिंसात्मक बन्न सक्ने जोखिम रोक्न चेतावनी गोली चलाइने गरेको दाबी गरेको छ । इजरायली सेनाले आफ्ना सैनिकहरू नजिक आउनेलाई चेतावनी गोली मात्र चलाएको र शुक्रबार पनि उसले आफ्नो नियन्त्रणमा रहेका मार्गहरूलाई सुरक्षित बनाउन चेतावनी गोली चलाएको बताएको छ । तर गाजामा भइरहेको मृत्युको तथ्यांकलाई इजरायल र जीएचएफले भने ‘अतिरञ्जित’ भएको दाबी गरेका छन् ।
हवाई सहायतामा विस्तार
यसै साता इजरायलसहित धेरै युरोपेली देशहरूले जोर्डन नेतृत्वको गठबन्धनमा सामेल भएर हवाई मार्गबाट पार्सलहरू खसाल्ने योजनाको घोषणा गरेका छन् । यद्यपि यो योजना गाजावासीका लागि अझै पनि अपर्याप्त र निकै खर्चालु रहेको उनीहरूले बताएका छन् । ‘यदि हवाई सहायतालाई अनुमति दिने राजनीतिक इच्छाशक्ति छ भने, सडक मार्गहरू खोल्न पनि त्यस्तै राजनीतिक इच्छाशक्ति हुनुपर्छ,’ प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रमुख फिलिप लाजारिनीले शनिबार एक्समा लेखेका छन्, ‘हामीलाई हाम्रो काम गर्न दिनुपर्छ ।’
हमासले ७ अक्टोबर ७ २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको लडाइँमा हालसम्म करिब १ हजार २ सय जना इजरायली मारिएका छन् भने इजरायलले थालेको प्रतिशोधात्मक आक्रमणमा परी ६० हजारभन्दा बढी प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
६ देशले गरे मानवीय सहायता
बेलायत– गाजाका झन्डै १० हजार भोकमरीपीडित परिवारलाई खाद्यान्न किन्नका लागि राहतकर्मीहरूले नगद सहयोग दिएका छन् । तर, बजारमा खाद्यान्न कम भएका कारण उनीहरूलाई खरिद गर्न कठिनाइ भइरहेको छ । संयुक्तराष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले भने बजारमा खाद्यान्नको मूल्यहरू छिनछिनमै उतारचढाव हुने गरेको र अधिकांशका लागि त्यो खरिदको पहुँच बाहिर रहेको बताएको छ ।
इजरायलले राहत सामग्री पठाउन आंशिक मात्रामा अनुमति दिए पनि गाजावासीको गाँसबासका लागि उक्त सहयोग पर्याप्त नरहेको बताइएको छ । सहायता सामग्री बोकेका सवारीसाधनलाई बाटोमा अवरोध पुर्याइने र सुरक्षा जोखिम पनि उच्च रहेको छ । महिनौंदेखिको खाद्यान्न अभावले गाजाको जनजीवन झनै कठिन बनेको छ भने, खाद्यान्न खोज्न जाने क्रममा अधिकांश गोलाबारीमा परी घाइते वा मारिने क्रम बढिरहेको छ । विगत दुई दिनमा मात्रै सयभन्दा बढी मानिस खाद्यान्न ढुवानी मार्ग वा इजरायली सैनिक वितरण केन्द्र नजिकै मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
संयुक्तराष्ट्र बाल कोषका उपकार्यकारी निर्देशकले भने, ‘हामीलाई दिनमा करिब ५ सय ट्रक सहायता सामग्री ल्याउन जरुरी छ ताकि स्थिति सुधार होस् र जनताका पीडा कम होस् । सबै नाका र मार्ग प्रयोग गरी गाजामा आवश्यक सामान पुर्याउनुपर्छ ।’ इन्धनको आपूर्तिमा पनि समस्या छ । गाजामा केही मात्रामा इन्धन पुगेको भए पनि अझै अत्यन्त कम छ । स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ र आपत्कालीन सञ्चारका लागि यहाँ दैनिक लाखौं लिटर इन्धन आवश्यक पर्छ ।
जोर्डन, इजिप्ट, जर्मनी, संयुक्त अरब इमिरेट्स (यूएई), फ्रान्स र स्पेनले पनि अगस्ट १ मा गाजा क्षेत्रमा संयुक्त रूपमा मानवीय राहत सामग्री खसालेका छन् । जोर्डनको जराकस्थित सैनिक हवाइ अड्डाबाट सुरु गरिएको यस अभियानअन्तर्गत गाजामा करिब ५७ टन अत्यावश्यक सामग्री पठाइएको हो ।
जोर्डनको सेनाले जारी गरेको विज्ञप्तिअनुसार, राहत सामग्रीमा खाद्यान्न, शिशुहरूका लागि दूध र अन्य अत्यावश्यक सामग्री समावेश छन् । यी सामग्रीहरू जोर्डन, जर्मनी, यूएई, फ्रान्स र स्पेनका हवाई जहाजमार्फत गाजामा खसालिएका हुन् । पछिल्लो साता फेरि सुरु गरिएको राहत कार्यअन्तर्गत हालसम्म १ सय ४८ टनभन्दा बढी सामग्री गाजामा पुर्याइएको सेनाले जनाएको छ । इजरायली सेनाले पनि यस अभियानमा समन्वय गरेको छ । सेनाका अनुसार, गाजामा सहायता अभियानका लागि जर्मनी, फ्रान्स र स्पेन पहिलो पटक सहभागी भएका छन् । यसअघि इजरायल, जोर्डन, इजिप्ट र यूएईबीच मात्र सहकार्य हुँदै आएको थियो । इजरायली सेनाले गाजामा भोकमरी जानाजान गराइएको भन्ने आरोप अस्वीकार गर्दै अन्तर्राष्ट्रिय समुदायसँग मिलेर राहत पुर्याउने काम जारी राख्ने बताएको छ । राहत सामग्री खसाल्ने कार्यले गाजावासीलाई केही राहत दिएको भए पनि लगातार भइरहेको हिंसा र नागरिक हताहतीले संकट अझै गहिरिएको देखिन्छ ।
घानाको पनि ४० मेट्रिक टन खाद्यान्न सहयोग
गाजामा जारी मानवीय संकट खेपिरहेका पीडितलाई सहयोग पुर्याउने उद्देश्यले घानाका राष्ट्रपति जोन महामाले ४० मेट्रिक टन राहत सामग्री हस्तान्तरण गरेका छन् । जसले प्यालेस्टिनी जनतालाई भोकमरीबाट जोगाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । ‘यस सहयोगमार्फत घानाले विश्व शान्ति, मानवता र सहानुभूतिप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ,’ राष्ट्रपति महामाले घानाले इजरायल र प्यालेस्टिनीबीच शान्तिपूर्ण सहमतिका लागि हुने वार्तालाई पूर्ण समर्थन रहने पनि बताए । सहायता सामग्रीका लागि घानामा नियुक्त प्यालेस्टिनी राजदूत अब्दलफताह अहमद खालिल अलसत्तारीले राष्ट्रपति र घानाली जनताप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै उक्त सहयोग गाजाका जनताका लागि निकै महत्त्वपूर्ण भएको बताए । (एपी/रासस)

























