विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले खनालप्रति कटाक्ष गरेका हुन्।
‘पार्टी फुटाएर गल्ती भयो’भन्ने खनालको पछिल्लो टिप्पणीलाई लक्षित गर्दै नेपालले खनाल ‘पार्टी निर्णय नमान्नेमा नम्बर वान’भएको दाबी गरे। नेपालले सार्वजनिक रूपमै जथाभबी नबोल्न भन्दै खुरुक्क राजीनामा दिएर पार्टी छाड्न पनि खनाललाई सुझाव दिएका छन्। एमालेबाट एकीकृत समाजवादी फुटाएयता पहिलोपटक नेपालले खनालप्रति यस्तो कडा टिप्पणी गरेका हुन्।
वरिष्ठ नेता खनालले एउटा अन्तर्वार्तामा एमाले फुटाउनु गल्ती भएको बताएका थिए। त्यसको जवाफस्वरूप अध्यक्ष नेपालले खनालको उक्त टिप्पणी विश्वास गर्न लायकको नभएको बताए। उनले भने,‘उहाँले त्यो भन्नुभएको हो भन्ने मलाई विश्वास लागेको छैन। अचेल त एआईको जमाना छ। नबोलेको कुरा पनि बोलेको जस्तो देखाइन्छ ।’
साथसाथै उनले खनाल पार्टी निर्णयको उल्लंघन गर्ने नेताहरूको सूचीमा पहिलो स्थानमा रहेको दाबी गरे। ‘पार्टीमा बस्ने उहाँको अधिकार पनि छैन,’नेपालको टिप्पणी थियो।
खनालको भनाइपछि पार्टीभित्र तरंग ल्याउने प्रयास भएको भन्दै अध्यक्ष नेपालले यस्ता ‘अवज्ञा’ स्वीकार्य नहुने जिकिर गरे । ‘हाम्रो पार्टीको संस्थागत निर्णय अनुसार माओवादीसँग समाजवादी मोर्चाको निरन्तरता, विश्वासको आधारमा सहकार्य र सहमतिको विस्तार गर्ने हो । यसमा कोही एकजनाको असहमति चल्दैन,’उनले भने ।
अध्यक्ष नेपालले माओवादीसँग पार्टी एकीकरणको कुनै छलफल नभएको पनि स्पष्ट पारे। उनले भने,‘हामी अहिले सहकार्यको मात्र कुरा गर्दैछौं । हल्ला फैलाउने जस्तो गरेर भ्रम सिर्जना गर्नु ठीक होइन ।’ उनका अनुसार हालको प्राथमिकता मोर्चाको सुदृढीकरण र साझा कार्यदिशा तय गर्नु हो ।

























