काठमाडौँ, साउन १५ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी संसदीय दलका नेता गंगाराम चौधरीलाई विधानविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेकी छन् । उनले निर्वाचन आयोगलाई समेत उक्त विषय बोधार्थ गराएकी छन् ।
आफू बिरामी भएर उपचाररत रहेको बेला दलको नेता चौधरीले साउन ९ र ११ गते पार्टीको नाममा अवैध र गैरकानुनी निर्णयहरू गरेको र आफूलाई कुनै जानकारी नगराइएको भन्दै अध्यक्ष रञ्जिताले असन्तुष्टि जनाएकी छन् ।
श्रेष्ठले चौधरीलाई पठाएको पत्रमा भनिएको छ, “तपाईंलाई पार्टी विधानको धारा १७ अनुसार किन कारबाही नगर्ने भनी यो पत्र लेखिएको हो । पत्र प्राप्त भएको २४ घण्टाभित्र कारणसहितको चित्तबुझ्दो स्पष्टीकरण पेश गर्नुहोस्, अन्यथा विधानअनुसार कारबाही गरिनेछ ।”
यसैबीच, रञ्जिताका श्रीमान समेत रहेका पार्टीका संरक्षक रेशम चौधरी सहभागी बुधबारको वैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरिसकेको छ ।
पोखराको बाटुलेचौर जग्गा प्रकरणमा घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि विवादमा परेकी श्रेष्ठले स्वास्थ्य समस्या देखाउँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव वास्तोलालाई हस्तान्तरण गरेकी थिइन् ।
तर, आफूलाई पार्टीबाट निष्काशन गरिएको निर्णयप्रति उनले आपत्ति जनाउँदै उक्त निर्णयलाई “हास्यास्पद” बताएकी छन् । बुधबार गरिएको भनिएको निर्णयको कुनै अर्थ नरहेको दावी गर्दै उनले आफू अझै नागरिक उन्मुक्तिको अध्यक्ष हो भन्ने प्रमाण निर्वाचन आयोगमै हेर्न सकिने बताएकी छिन् ।
यता संस्थापकहरूको बैठक अझै जारी छ । बैठकले नयाँ अध्यक्ष चयन गरी सो सम्बन्धमा निर्वाचन आयोगलाई जानकारी दिने तयारी गरिरहेको छ । पार्टीको नेतृत्व र वैधानिकतासम्बन्धी विवाद अब निर्वाचन आयोगमार्फत समाधान हुने छ ।

























