काठमाडौँ, साउन १५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडक स्तरीकरण कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । बिहीबार सडकको स्थलगत निरीक्षण गर्दै उनले यो सडक काठमाडौँलाई छोटो मार्गबाट जोड्ने महत्वपूर्ण पूर्वाधार भएकाले यसले आर्थिक विकास र समृद्धिमा उल्लेखनीय योगदान पुर्याउन सक्ने बताए।
मन्त्री दाहालले मकवानपुरको कृषि उत्पादन काठमाडौँ पुर्याउन तथा पर्यटकीय सम्भावना उपयोग गर्न यो सडक मार्ग उपयोगी हुने भएकाले निर्माण कार्यलाई समयमा सम्पन्न गर्न निर्देशन दिए। साथै, कुनै पनि योजना ढिलाइ नगरी तोकिएको समयसीमा भित्र सम्पन्न गर्न सडक विभागलाई आग्रह गरे।
“विकासका संरचनाले नागरिकको जीवनस्तरमा सुधार ल्याउन सक्नुपर्छ,” मन्त्री दाहालले भने, “थानकोट-चित्लाङ सडक आर्थिक दृष्टिले अति महत्वपूर्ण भएकाले निर्माणमा ढिलासुस्ती सह्य नहुनेछ।”
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यो सडक न केवल मकवानपुर र काठमाडौँका बासिन्दाका लागि, तर पूर्वी नेपाल, बागमती, मधेस र लुम्बिनी प्रदेशसँगको पहुँचका लागि समेत महत्वपूर्ण रहेको बताए। उनले यो सडक छिटो, अबरोधविहीन रूपमा सम्पन्न गर्न जोड दिए।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले निर्माण कार्यमा कुनै ढिलाइ नगरी आवश्यक तयारी भइरहेको जानकारी दिए। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार सडक स्तरीकरणका लागि ठेक्का सम्झौता भइसकेको छ र कार्य प्रारम्भ भइसकेको छ।
सडक डिभिजन काठमाडौँका प्रमुख नारायणदत्त भण्डारीले सडक निर्माण दुई प्याकेजमा विभाजित रहेको जानकारी दिए। करिब ८.५ किलोमिटर काठमाडौँ जिल्लामा र बाँकी भाग मकवानपुर जिल्लामा पर्दछ।
अनुगमन कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, बुद्धिजीवी संगठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलिया लगायतको उपस्थिति थियो।

























