काठमाडौं, साउन १४ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेला काठमाडौंको मध्य बानेश्वरमा जारी छ। तर पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भने भेलामा सहभागी भएकी छैनन् ।
पोखराको चर्चित लिचीबारी घुसकाण्डमा मुछिएपछि रञ्जिताविरुद्ध पार्टीभित्र अनुशासन प्रक्रिया अघि बढाइएको थियो, जसकै सन्दर्भमा राष्ट्रिय भेला बोलाइएको हो ।
भेलामा अनुशासन समितिबाट रञ्जितामाथि गरिएको कारबाहीलाई अनुमोदन गर्ने तयारी भइरहेको एक पार्टी नेताले जानकारी दिएका छन् । साथै, भेलाको मुख्य एजेण्डा अनुशासन कारबाही अनुमोदन गर्नुका साथै नयाँ पदीय जिम्मेवारी निर्धारण गर्नु रहेको बताइएको छ ।
राष्ट्रिय भेलामा केन्द्रीय सदस्यहरू, संघीय र प्रदेश सांसदहरू सहभागी छन् ।
घटनापछि रञ्जिताले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन्, तर यो निर्णय पार्टीभित्रै विवादको विषय बनेको थियो।
रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले रञ्जितालाई २४ घण्टे स्पष्टीकरण माग गरेको थियो। तर समयमै जवाफ नआएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको र निर्वाचन आयोगमा त्यसबारे जानकारी गराइएको नाउपाले जनाएको छ। सो पत्र मंगलबार आयोगमा दर्ता गरिएको थियो।
अनुशासन समितिमा संयोजक डगौरा बाहेक सुनिता चौधरी र पुण्य बुढा सदस्य रहेका छन् । राष्ट्रिय भेलाले समितिको निर्णयलाई वैधानिकता दिने संकेत देखिएको छ।

























