काठमाडौँ, साउन १४ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन प्रस्ताव यथास्थितिमा पारित भएमा मुलुकका उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित ‘देशको वित्तीय तथा मौद्रिक अवस्था’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले संशोधन प्रस्तावअनुसार ऐन पारित भएमा आर्थिक गतिविधि नै ठप्प हुने जोखिम रहेको बताए ।
उनले व्यवसायी र बैंकरलाई छुट्याउने भन्ने प्रस्तावले नै अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने धारणा राखे । “एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत सेयर संस्थापकलाई दिने भनिएको छ । अर्कातिर, ‘सम्बद्ध पक्ष’को परिभाषा अनुसार १ प्रतिशतभन्दा बढी सेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने व्यवस्था गरिएमा धेरै उद्योगधन्दा बन्द हुने अवस्था आउन सक्छ,” उनले स्पष्ट पारे ।
नेपालमा आर्थिक विकासका धेरै सम्भावना रहेकाले त्यसलाई प्रयोग गरेर समृद्धितर्फ अघि बढ्न सकिने उनले बताए । त्यस्तो अवस्थामा नकारात्मक सोच त्यागी सकारात्मक दिशा रोज्नुपर्ने उनको सुझाव थियो ।

























