काठमाडौं, साउन १४ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । संसद् सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १:१५ बजे बस्नेछ ।
बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफलपछि प्रधानमन्त्री ओलीले प्रतिवेदनसम्बन्धी धारणा राख्ने र त्यसमा जवाफ दिने कार्यसूची रहेको छ ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव पेश गर्नेछन्।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको जानकारी पनि सभाध्यक्षले बैठकमा दिनेछन्।
























