काठमाडौं, साउन १४ । बुधबार बिहान ३ बजेदेखि रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलस्तर एकाएक बढेको छ । बाढीको जोखिम बढेसँगै रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सतर्क रहन अनुरोध गरेका छन् ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाट लगायतका क्षेत्रमा नदी कटान गरेको छ। बाढी बस्तीमा पस्न सक्ने जोखिम उच्च रहेकाले सुरक्षित स्थानमा बस्न स्थानीयहरूलाई आग्रह गरिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूले माइकिङ गर्दै नदी किनार नजिकका बासिन्दालाई सचेत गराउँदै सुरक्षित स्थानमा सर्न अनुरोध गरिरहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित ल्हेन्दे खोलामा मित्रराष्ट्र चीनबाट आएको उच्च पानीको बहावका कारण बाढी आएको हो। बाढीका कारण भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा अझै खतरा कायम रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणद्वारा जारी चेतावनीमा भनिएको छ, “अहिले पनि बाढीको सतह उच्च नै रहेकाले नदी किनारका नागरिकहरूले अत्यधिक सजगता अपनाउन अनुरोध गरिन्छ। खोलामा माछा मार्न जाने, बगेर आएका काठदाउरा संकलन गर्नेजस्ता जोखिमपूर्ण कार्य नगर्नुहोला।”
यसपटकको बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाउनुका साथै किस्पाङ गाउँपालिका–५ मा रहेको ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा पनि क्षति पुर्याएको छ।
प्रशासनले सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता र सुरक्षाका उपायहरू अवलम्बन गर्न सबैलाई आग्रह गरेको छ। यसअघि असार २५ गते पनि यही खोलामा चीनतर्फबाट आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो ।

























