काठमाडौं, साउन १२ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेका सवारी साधन मंगलबार कैलालीको चिसापानीमा आयोजित कार्यक्रममा जाँदै गर्दा आपसमा ठोक्किएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल चढेको बा.२ झ १४१९ र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेको से.१ झ ३३० नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिए।
दिउँसो करिब सवा १ बजेतिर भएको दुर्घटनामा गाडीहरूमा सामान्य क्षति पुगेको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
प्राप्त विवरणअनुसार पाल चढेको गाडीको पछाडिको भाग र सार्की चढेको गाडीको अगाडिको भागमा क्षति पुगेको छ।
दुबै मन्त्री प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमका लागि चिसापानी जाँदै थिए।

























