काठमाडौं, साउन १३ । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको एक गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ। गोली चलाउने २७ वर्षीय युवकले पछि आफैँलाई पनि गोली हानेका थिए।
प्रहरीका अनुसार ती युवक लास भेगासका थिए। सार्वजनिक गरिएको सीसीटीभी फुटेजमा उनी लामो बन्दुक बोकेर भवनभित्र पस्दै गरेको देखिएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार, ती व्यक्ति भवनको लबीमा पुगेर अन्धाधुन्ध गोली चलाउन सुरु गरेका थिए। उनले सुरुमा एक न्यूयोर्क पुलिसका अधिकारीलाई गोली हानेका थिए भने त्यसपछि एक महिलालाई पनि निशाना बनाएका थिए जो एउटा खम्बा पछाडि लुकेकी थिइन्।
प्रहरी अधिकारीहरू घटनास्थलमा किन उपस्थित थिए भन्ने पूर्ण जानकारी आइसकेको छैन, तर प्रहरी आयुक्त जेसिका टिसका अनुसार दुई जना प्रहरी अधिकारीहरू ‘पेड डिटेल’ कार्यक्रमअन्तर्गत त्यहाँ खटिएका थिए। यो कार्यक्रमअन्तर्गत निजी कम्पनीहरूले थप सुरक्षाका लागि युनिफर्मसहितका प्रहरीलाई भाडामा लिन सक्छन्।
गोली चलेको ६३४ फिट अग्लो भवनमा नेशनल फुटबल लिग र ब्ल्याकस्टोन जस्ता ठूला कर्पोरेट कार्यालयहरू छन्। गन भायोलेन्स आर्काइभको तथ्यांकअनुसार, यो यस वर्ष अमेरिकामा भएको २५४ औँ सामूहिक गोलीकाण्ड हो।
प्रहरी अधिकारीहरूले पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएका छन्, तर गोली चलाउनुको कारण भने अझै स्पष्ट भइसकेको छैन। गोली चलाउने व्यक्ति एउटा एमबीडब्ल्यू गाडीमा आएका थिए। उनीसँग एम–फोर राइफल र एक रिभल्भर पनि फेला परेको छ। उनको गाडीबाट गोली र म्यागेजिन पनि भेटिएका छन्। साथै, उनीसँग नेभाडा राज्यको ड्राइभिङ लाइसेन्स पनि फेला परेको छ।

























