धनगढी, साउन १३ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले वर्षौंदेखि अलपत्र परेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई नेपाल–भारत दुवै देशको हितमा अघि बढाउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको बताएका छन् ।
मंगलबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनासम्बन्धी महत्त्वपूर्ण सहमति हुने आशा व्यक्त गरे।
उनका अनुसार पञ्चेश्वर परियोजनाका लागि नेपाल–भारतबीच २० वर्षअघि सम्झौता भए पनि काम अघि नबढ्दा नेपालले करिब एक खर्ब रुपैयाँ घाटा व्यहोर्नु परेको छ।
“अब परियोजनालाई दुई देशको साझा हितमा निष्कर्षमा पुर्याउने गरी छलफल अघि बढाउने तयारी भइरहेको छ,” मन्त्री खड्काले भने। “प्रधानमन्त्रीको भारत भ्रमणको अवसरमा पञ्चेश्वरसँग सम्बन्धित विवादास्पद विषयहरु समाधान गर्ने प्रयास गरिनेछ।”
उनले पश्चिम सेती जस्ता अन्य ठूला परियोजनाहरु पनि स्रोतसाधन, कानुनी जटिलता र आर्थिक अभावका कारण वर्षौंदेखि अलपत्र अवस्थामा रहेको बताए। नेपालमा ऊर्जाको ठूलो सम्भावना भए पनि कार्यान्वयन पक्षमा समस्या रहेको उनले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने तयारी भइरहेको छ।

























