काठमाडौं, साउन १२ । रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् । आइतबार गोसाइँकुण्डमा स्नान गर्ने क्रममा विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए ।
बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पुगेका थिए ।
नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी बेपत्ता युवकको खोजी गरेको थियो ।
मामा–फुपुका छोरा रहेका उनीहरु सोमबार बिहान १० बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतको शव काठमाडौं ल्याउने प्रयास भइरहेको बताइएको छ ।
मनोज काठमाडौं बस्दै आएका थिए भने विराटनगरस्थित घरमा बस्दै आएका सुजन केही दिनअघि मात्र काठमाडौं आएका थिए । काठमाडौंबाट साथीभाइसँग उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए ।
एक जना चिप्लिएपछि अर्का उद्दार गर्न जाँदा दुवै जना बेपत्ता भएका थिए ।

























