काठमाडौँ, साउन १२ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा बाढीले घेरेर फसेका पाँच जनाको सोमबार बिहान नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।
सुन्दरीमाई मन्दिर नजिकै नदीमा नुहाइरहेका बेला एक्कासी खोलाको पानीको सतह बढेपछि चार जना भारतीय तीर्थालु र एक जना नेपाली तीर्थालु बीच नदीमा फसेका थिए । चारैतिरबाट बाढीले घेरेपछि उनीहरूले ठूलो ढुंगामा चढेर ज्यान जोगाएका थिए ।
घटनाको जानकारी पाउनासाथ श्री चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षितरूपमा उद्धार गरेको हो ।

























