तनहुँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुने बताएकी छिन्।
नेपाल निजामती कर्मचारी सङ्गठन तनहुँले आज यहाँ आयोजना गरेको सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री न्यौपानेले निजामती कर्मचारी ऐन आएपछि कर्मचारीका धेरै समस्या सम्बोधन हुने उल्लेख गरेकी हुन्। उनले प्रतिनिधिसभाबाट उक्त ऐन राष्ट्रियसभामा आएको र राष्ट्रियसभाले पारित गरेर पुन: प्रतिनिधिसभा पठाएपछि त्यहाँबाट ऐन जारी हुने बताइन्।
मन्त्री न्यौपानेले ऐन आएपछि कर्मचारीका धेरै सवाल समाधान हुने विश्वास दिलाइन्। उनले सङ्घीयताको मर्मअनुसार कर्मचारी व्यवस्थापन भएन भन्ने सवाल पनि ऐनले समाधान गर्ने विश्वास समेत व्यक्त गरेकी छिन्। कर्मचारी प्रशासनमा केही समस्या रहेको उल्लेख गर्दै उनले त्यस्ता सबै समस्या समाधान गरिने उनको भनाइ रहेको थियो। मन्त्रालयको काम सरुवा बढुवा मात्र हो कि भन्ने सन्देश गएको जिकिर गर्दै मन्त्री न्यौपानेले सङ्घीयता कार्यान्वयन तथा तीन तहको सरकारको समन्वय पनि मुख्य जिम्मेवारी रहेको चर्चा गरिन्।
नेपाल निजामती कर्मचारी सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष डोलराज पराजुलीले निजामती कर्मचारी ऐन नआउँदा तल्लो तहका कर्मचारीलाई समस्या भएको बताए। (रासस)
























