काठमाडौं साउन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनका लागि नेपाली कांग्रेस र कम्युनिष्टहरूले सँगै मिलेर कठिन परिस्थितिको सामना गर्दै बलिदानपूर्ण आन्दोलन गरेको बताएका छन् । उनले अहिले ‘अधिनायकवाद’ भन्दै आलोचना गर्नेहरूलाई आफूहरूले भोगेको जेलनेल र कालकोठरीको अनुभवबारे ज्ञान नभएको टिप्पणी गरे।
आज बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले बीपी कोइराला र पुष्पलालजस्ता नेताहरू अब कुनै दल विशेषका नभई राष्ट्रकै साझा नेता भएकोमा जोड दिए। “अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ। तर, अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने बीपीहरू र हामीहरूलाई थाहा छ। जेल हत्कडी र कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ,” प्रधानमन्त्री ओलीले भने।
उनले प्रजातन्त्रका लागि आफ्नो निहीत स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्वहरूको सम्मानमा सरकारले बीपी कोइरालाको नाममा पुरस्कार स्थापना गरेको बताए।
चार स्रष्टालाई ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१’ प्रदान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१’ बाट चार जना स्रष्टालाई सम्मान गरे। पुरस्कृत हुनेहरूमा साहित्यकारहरू नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्बाङ (वैरागी काईँला), र भुवन ढुुङ्गाना कोइराला रहेका छन्। उनीहरूलाई जनही एक लाख रुपैयाँसहित पुरस्कार प्रदान गरियो।
प्रधानमन्त्री ओलीले बीपी कोइरालाले सङ्घर्षका लागि बाटो देखाएको र राजनीतिक परिवर्तनमा कांग्रेस तथा कम्युनिष्टको सहकार्यमा बीपी प्रेरणाको मियो रहेको स्मरण गरे।
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान पुर्याएका बीपी कोइरालाको योगदानलाई स्मरणमा राखिराख्न सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत् उक्त पुरस्कारको व्यवस्था गरेको थियो। २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष यो पुरस्कार वितरण हुँदै आएको छ।
























