काठमाडौं, साउन ११ । राष्ट्रिय सभा सदस्य अन्जान शाक्यले संघीय निजामती सेवा विधेयकमा आफूले राखेको संशोधन प्रस्ताव ‘कुलिङ अफ पिरियड’ (सेवा निवृत्त भएपछि निश्चित समयसम्म सार्वजनिक पद धारण गर्न नपाउने) प्रावधान नै नराख्ने अर्थमा नरहेको स्पष्ट पारेकी छन् ।
उनले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान सरकारको प्राथमिकतामा रहेको ‘स्वार्थको द्वन्द्व व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको (सीओआई) विधेयक’ सँग सम्बन्धित भएकोले संघीय निजामती सेवा विधेयकबाट हटाउनुपर्ने प्रस्ताव राखेको बताएकी छन्। उनको भनाइ छ, सीओआई विधेयकबाटै यसलाई टुंगोमा पुर्याउनु उचित हुन्छ।
शाक्यले साउन २ गते दर्ता गराएको आफ्नो सूचनामा पनि प्रस्तावनाको ८२ नम्बर बुँदामा सोही कुरा उल्लेख भएको तर संघीय निजामती सेवा विधेयक २०८० को प्राप्त संशोधन प्रस्तावको एकीकृत विवरणमा भने फरक ढंगले आएको गुनासो गरिन्। “यो दफा र यस दफालाई संशोधन गरेको प्रतिवेदनको बुँदा ४३ झिक्नुपर्ने भनी उल्लेख गरिएको छ,” शाक्यले भनिन्, “मैले सहज रूपमा समाधानका लागि ‘कुलिङ अफ पिरियड’ लगायत अन्य दफाहरूसमेत ‘स्वार्थको द्वन्द्व व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको (सीओआई) विधेयकसँग सम्बन्धित भएको हुनाले यस विधेयकबाट हटाउने र त्यहाँबाट टुंगोमा पुर्याउँदा उचित हुन्छ भनी राखेको संशोधनलाई विधायन व्यवस्थापन समितिको ढाँचामा उहाँहरूले परिमार्जन गर्दा गलत अर्थ लाग्ने गरी भ्रम सिर्जना हुन गएको छ।”
उनले आफ्नो प्रस्तावलाई गलत ढंगले व्याख्या गरी आफू ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान नराख्ने पक्षमा रहेको जस्तो देखाइएकोमा भ्रममा नपर्न आग्रह गरेकी छन्। उनले यस विषयमा विधायन व्यवस्थापन समितिलाई संशोधन प्रस्तावको भावना र मर्म नै गलत हुनेगरी तयार पारिएको ढाँचा सच्याउन आग्रह गरिसकेको पनि जानकारी दिइन्।
विधेयकको प्रतिवेदनको बुँदा ४३ मा निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएका वा अवकाश पाएका कर्मचारीले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन भन्ने उल्लेख छ।
“विधेयकलाई विभेदकारी बनाउनु हुँदैन भन्ने पक्षमा म छु,” शाक्यले भनिन्, “त्यसैले मैले फरक ढंगको संशोधन प्रस्ताव राखेको छु। ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान हटाउने/नहटाउने भन्दा पनि असाध्यै धेरै चर्चामा आएको र विवादित समेत भनेको सो प्रावधानलाई मसिनो ढंगले छलफल गरेर सबै समूहलाई न्यायोचित हुने ढंगले समाधान गर्नुपर्छ भन्नेमा छु।”
























