काठमाडौं, साउन ११ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको सहज प्रयोगको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका छन् । संघीय ऐनका कारण स्थानीय कच्चा पदार्थ प्रयोग गर्न असहज भएको भन्दै त्यसको संशोधन नै उनको मुख्य माग हो ।
कपाल मुण्डन गरी सेतो कपडा लगाएर परालको गुन्द्रीमाथि बसेका मेयर भट्टराईले ‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनाश हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर,’ र ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं’ लगायतका नारा लेखिएका प्लेकार्डहरू साथमा राखेका छन्। उनलाई केही स्थानीय अगुवा र जनप्रतिनिधिहरूले पनि साथ दिएका छन्।
सुरुमा सिंहदरबारको दक्षिण गेटअगाडि सत्याग्रह सुरु गर्ने योजना बनाएका भट्टराईले सो क्षेत्र निषेधित भएकाले माइतीघर मण्डपमा स्थान सारेका हुन्।
मेयर भट्टराईका मुख्य मागहरू:
जलवायु परिवर्तन: जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि ठोस कानुन बनाई धेरै प्रदूषण गर्ने अन्य देशहरूसँग क्षतिपूर्ति लिने व्यवस्था गरिनुपर्ने।
बाँस र अन्य कच्चा पदार्थको प्रयोग: सरकारी कार्यालयहरूमा बाँस र अन्य स्थानीय कच्चा पदार्थ प्रयोग गर्न मिल्ने गरी ‘बिल्डिङ कोड’ र ‘नम्स’ तयार गरी कानुन निर्माण गरिनुपर्ने।
प्लास्टिकजन्य फोहोर व्यवस्थापन: प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीहरूसँग स्थानीय तहले थप १० प्रतिशत कर लिन पाउने कानुन बनाउनु पर्ने।
अनियन्त्रित क्रसर नियन्त्रण: जथाभाबी प्रकृतिको दोहन गर्ने क्रसर तथा उद्योगहरूलाई कडाइका साथ रोकी कडा कानुन बनाई कारबाही गरिनुपर्ने।
वातावरणमैत्री फर्निचर: पहिलो चरणमा वन तथा उद्योग मन्त्रालय र मातहतका सबै निकायले फर्निचर खरिद गर्दा बाँस, काठ, राडीपाथी तथा वातावरणमैत्री फर्निचर र भवन संरचना प्रयोग गर्ने नीतिगत निर्णय गरिनुपर्ने।
अलपत्र पूर्वाधार निर्माण: काठमाडौंदेखि खोटाङ जाने बाटोमा अलपत्र परेका पुल, सडक र अन्य संरचनाहरू तत्काल निर्माण सुरु गर्न र दोषीलाई कडा कानुनी कारबाही गरिनुपर्ने।
बाँदर तथा वन्यजन्तु व्यवस्थापन: पहाडी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंकका कारण बढेको बसाइँसराइको दर नियन्त्रण गर्न तत्काल नीतिगत निर्णय गरी क्षतिपूर्ति तथा बाँदर व्यवस्थापन गरिनुपर्ने।

























