सुर्खेत, साउन ११ । वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा एक अवकाशप्राप्त नेपाली सैनिकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय दानसिंह ठाडाले आइतबार बिहान करिब १ः३० बजे ४१ वर्षीया श्रीमती रविना थापाको चिर्पट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
हत्यालगत्तै ठाडाले विदेशमा रहेका आफ्ना छोराछोरीलाई र त्यसपछि वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई फोन गरी प्रहरीको नम्बर मागेका थिए । प्रहरीको नम्बर पाएपछि उनले आफैं जिल्ला प्रहरी कार्यालयमा फोन गरेर श्रीमतीको हत्या गरेको र आफूलाई पक्राउ गर्न आउन जानकारी दिएका थिए । बिहान २ बजेतिर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीर राज शाहीका अनुसार दानसिंहले श्रीमतीको टाउको र छातीमा चिर्पटले प्रहार गरेको प्रारम्भिक जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल पठाइएको छ भने दानसिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
वडाध्यक्ष कोइरालाका अनुसार शनिबार दिउँसो दानसिंहका बुवाआमा घरमा आएर खाना खाएर फर्किएका थिए। बेलुका दानसिंह र रविना ओछ्यानमा पल्टिएर मोबाइल हेरिरहेका थिए । रविना निदाएपछि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा प्रहार गरी हत्या गरेको वडाध्यक्षले बताए ।
दानसिंहका एक छोरा दुबईमा, एक छोरी जापानमा र अर्की एक छोरी सुर्खेतमै बस्छन् । वडाध्यक्ष कोइरालाका अनुसार विगतमा मदिरा सेवन गर्ने गरे पनि पछिल्लो एक हप्तायता उनले मदिरा सेवन गर्न छाडेका थिए ।
हत्याको कारण भने अझै खुल्न सकेको छैन । वडाध्यक्ष कोइरालाले दानसिंहलाई श्रीमतीको हत्या किन गरेको भनेर सोध्दा, ‘मैले केही थाहा पाइनँ, सैतान भनेर हानेको हुँ’ भनेर जवाफ दिएको बताए । घटनास्थलमा अहिले पनि अनुसन्धान जारी छ ।
























