काठमाडौं । यो साताभर मनसुनी वायुको प्रभाव रहने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार साताको मध्यमा भारतको पश्चिम बंगाल र झारखण्ड आसपासको क्षेत्रमा बन्ने न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहने देखिन्छ।
उच्च पहाडी तथा हिमाली भूभागअन्तर्गत कोशी प्रदेश र बागमती प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ। साताको सुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा मध्यमा केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपात को सम्भावना छ।
पहाडी भूभाग अन्तर्गत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। साताको सुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा मध्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा सम्भावना छ।
तराई भूभाग अन्तर्गत कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। साताको सुरु र अन्त्यमा एक -दुई स्थानमा तथा मध्यमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यो साताको सुरु र अन्त्यमा देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नभए तापनि साताको मध्यमा अधिकतम र न्यूनतम तापक्रम केही घट्ने सम्भावना रहेको छ।
औसतसँग तुलना गर्दा मध्य र पश्चिम तराईमा औसत भन्दा कम वर्षा हुने, पहाडी भू-भाग र पूर्वी तराईमा औसत आसपास र बाँकी स्थानहरूमा औसत भन्दा थोरै बढी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना रहेको छ।
























