महोत्तरी, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेश क्षेत्रमा तत्काल राहतस्वरूप ५ सय डिप बोरिङ जडान गरिने घोषणा गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका हुन् ।
एउटा डिप बोरिङमार्फत करिब ६० बिघा जमिनमा सिंचाइ सम्भव हुने बताउँदै प्रधानमन्त्री ओलीले यसले तत्काल समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
“हामी अहिले तत्काल केही डिप बोरिङ जडान गर्दैछौं। प्रारम्भमा ५ सय जति डिप बोरिङ हुनेछ, जसबाट प्रत्येकले करिब ६० बिघा क्षेत्र सिंचित गर्न सकिनेछ,” प्रधानमन्त्री ओलीले भने।
पानीको अभावले मधेश सुख्खाग्रस्त भएको भन्दै सरकारले यस क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको प्रधानमन्त्री ओलीले बताए। तर सरकारले केवल घोषणा गरेर बस्ने नभई, दीर्घकालीन र तत्काल दुबै किसिमका उपायहरू अगाडि बढाइसकेको उनले उल्लेख गरे।
त्यसै क्रममा प्रधानमन्त्री ओलीले चुरे क्षेत्रमा तालतलैया निर्माण गरी पानी संचित गर्ने र भूगर्भिय जलस्रोत संरक्षणमा सरकारको प्राथमिकता रहेको बताए।
“चुरे क्षेत्रमा पानीका स्रोतहरू संरक्षण गर्ने, तालतलैया निर्माण गर्ने र सतही पानी भूगर्भमा हराउने प्रक्रिया रोक्ने काममा हामी लागिरहेका छौं,” उनले थपे।
प्रधानमन्त्रीले सबै सरकारी निकायहरूलाई समन्वयमा लाग्न निर्देशन दिँदै, गैरसरकारी संस्थाहरूलाई पनि सहकार्य गर्न आह्वान गरे। साथै, मधेशका आठै जिल्लालाई लक्षित गर्दै सन्तुलित विकास र राहत कार्यक्रम अघि बढाइने प्रतिबद्धता पनि उनले जनाए ।

























