
काठमाडौं, ९ साउन । नेपाल आयल निगम लिमिटेडले हाल सिनामंगलमा रहेको हवाई इन्धन डिपोलाई काठमाडौं महानगरपालिका–८ स्थित गुह्येश्वरीमा स्थानान्तरण गर्ने तयारी गरेको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले २०७८ साउन २८ गते गरेको निर्णयअनुसार डिपो सार्ने प्रक्रिया अघि बढाइएको हो ।
डिपो स्थानान्तरणका लागि त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान, पूल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (DPR) बिहीबार नेपाल आयल निगम लि. हवाई इन्धन डिपो सिनामंगललाई हस्तान्तरण गरेको छ । निगमले २०७८ मंसिर ५ गते संस्थानसँग डीपीआर निर्माणका लागि सम्झौता गरेको थियो।
सिनामङ्गलस्थित निगमको कार्यालयमा आयोजित कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्रा.डा. सुरज लामिछाने र सह–प्राध्यापक नारायण गौतमले सिनामङ्गलस्थित डिपोका प्रमख प्रदीकुमार यादव र लेखा प्रमुख प्रचण्ड पाठकलाई हस्तान्तरण गरेका हुन ।
डीपीआर हस्तान्तरण कार्यक्रममा बोल्दै सिनामंगल डिपोका प्रमुख ई. प्रदिप कुमार यादवले नयाँ प्रस्तावित डिपो अत्याधुनिक र पूर्णरूपमा स्वचालित रहने बताए । प्रमुख यादवका अनुसार L3 स्तरको अटोमेशन प्रणालीयुक्त डिपोमा हालका लागि ३,००० किलो लिटर क्षमताका ५ वटा भर्टिकल ट्याङ्की निर्माण गरिनेछ भने भविष्यमा भण्डारण क्षमता बढाउन आवश्यक खाली स्थानको पनि व्यवस्था गरिएको छ ।
यस्तै, इन्धन लोडिङ/अनलोडिङका लागि क्रमशः ६ र ८ वटा बे (Bay) बनाइने छन् । अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरूमा इन्धन आपूर्ति गर्नका लागि ७ वटा पिट हाइड्रान्ट रिफ्युलिङ प्रणाली तथा २ वटा रिफ्युलिङ डिस्पेन्सर समेत रहने यादवले जानकारी दिएका छन् ।
सुरक्षाका दृष्टिकोणले डिपोमा २,१०० किलो लिटर क्षमताका २ वटा स्थिर पानी ट्याङ्की (Static Water Tank) र पूर्ण स्वचालित दमकल प्रणाली (Fire Fighting System) समेत जडान गरिनेछ । साथै, प्रशासनिक भवन, प्रयोगशाला, मर्मत यार्ड र डिपो सुरक्षार्थ खटिने नेपाली सेनाको लागि छुट्टै भवनको समेत व्यवस्था गरिने बताइएको छ ।
अन्तर्राष्ट्रिय स्तरका मापदण्ड (API र OISD) को पालना गर्दै निर्माण हुने यस डिपोको लागत अनुमानितरूपमा ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ रहेको निगमले जनाएको छ ।
आगामी ५० वर्षका लागि हवाई इन्धनको माग धान्न सक्नेगरी नयाँ डिपो निर्माण गरिने जानकारी दिँदै प्रमुख यादवले भविष्यमा भण्डारण टयाङ्क निर्माणका लागि थप जग्गा पनि रहनेछ ।
नेपालकै इन्जिनियर सक्षम छन् भन्ने सन्देश दिनका लागि पनि इन्जिनियरिङ अध्ययन संस्थानलाई डीपीआर निर्माण गर्न दिइएको बताउँदै डिपो प्रमुख यादवले विदेशी संस्थाले भन्दा राम्रो, सस्तो र छिटो डीपीआर बनेको बताए ।
हाल नागरिक उड्डयन प्राधिकरणबाट साइट क्लीयरेन्सको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै यादवले दुई महिनाभित्र खाली गरिदिन आग्रह पनि गरेका छन् । परियोजनाको म्एच् अध्ययनपश्चात चालु आर्थिक वर्ष २०८२/८३ भित्र बजेट विनियोजन गरी भदौ महिनामा सार्वजनिक खरिद ऐनअनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिने बताइएको छ ।
डिपो प्रमुख यादवका अनुसार बोलपत्र मूल्यांकन लगायतका प्रक्रिया दुई महिनाभित्र सम्पन्न गरी मंसिर महिनाबाट निर्माण कार्य सुरु गरिनेछ । सम्पूर्ण निर्माण कार्य २०८४ मंसिरसम्म सम्पन्न गरी डिपो सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
प्रमुख यादवले समयमै काम शुरु गरेर निर्धारित समयभित्रै सम्पन्न गर्ने दावी गरेका छन् । निर्माण अवधि बढाएर निगमलाई आर्थिक भार थप्ने काम कहि कतैबाट हुन नहुने बताउँदै आफूहरुबाट त्यस्तो नहुने उनले बताएका छन् ।
इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन लामिछानेले आफूहरू जस्तोसुकै परियोजनाको पनि डिजाइन गर्न सक्षम रहेको बताए । उनले निगमसँगको सहकार्यबाट संस्थानको पनि क्षमता वृद्धि हुनुका साथै निर्धारित समयमा डीपीआर हस्तान्तर गर्न सफल भएको बताए ।
























