काठमाडौं, साउन ९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब आफूलाई कुनै पदको लालसा वा महत्वकांक्षा नरहेको स्पष्ट पारेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रकै सर्वोच्च पद राष्ट्रपतिमा पुगिसकेकाले अब पदको आकांक्षा नरहेको उल्लेख गरेकी छिन् ।
‘अब मलाई कुनै पदप्रति लालसा, महत्वकांक्षा वा आशक्ति छैन,’ उनले भनिन्, ‘किनकि म राष्ट्रको सर्वोच्च जिम्मेवारी सम्हालेर इतिहासमा आफ्नो नाम अभिलेखित गरिसकेको छु ।’
पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा फर्किएर देश र जनताको सेवा गर्ने इच्छा राखेको उल्लेख गर्दै यसलाई अस्वाभाविक नठान्न आग्रह गरिन् ।
‘म राजनीतिबाट राष्ट्रपतिको पदमा पुगेकी हुँ । अब फेरि पार्टीमा सक्रिय भई जनसेवामा समर्पित हुने मेरो निर्णय संवैधानिक हकभित्र पर्छ,’ उनले थपिन्, ‘पार्टीको नेता भएर राष्ट्रपतिको पदमा पुगेको म, फेरि आफ्नो राजनीतिक जीवनलाई पार्टीमार्फत अघि बढाउनु स्वाभाविक हो ।’


























