काठमाडौं । कम्बोडियाका अधिकारीहरूले चलाएको गोलीबाट एक नागरिकको मृत्यु र तीन जना घाइते भएपछि थाइल्याण्डले कम्बोडियाका दुई सैन्य अड्डालाई लक्षित गरी हवाई आक्रमण गरेको छ। यो जानकारी थाइल्याण्डको सेनाले दिएको हो ।
थाई सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननले बैंकक पोष्टको अनलाइन संस्करणलाई उद्धृत गर्दै भन्नुभयो, “हामीले योजना अनुसार, सैनिक अड्डामा हवाई शक्ति प्रयोग गरेका छौँ।” सीमामा बढ्दो तनावका बीच कम्बोडियाली सैनिकहरूले थाइल्याण्डको उत्तरपूर्वी सुरिन प्रान्तमा रहेको एक सैन्य बेसमा गोली हानेको बताइएको छ। बिहानसम्म कम्तीमा छ स्थानमा तनाव फैलिएको बैंकक पोष्टले उल्लेख गरेको छ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले पनि थाइल्याण्डले कम्बोडियाली सैनिक अड्डामा आक्रमण गरेको पुष्टि गर्नुभएको छ। उहाँले एजेन्सी एपीलाई भन्नुभयो, “कम्बोडिया सधैँ समस्याहरूको शान्तिपूर्ण समाधानको पक्षमा रहँदै आएको छ, तर यस अवस्थामा, सशस्त्र आक्रमणको जवाफमा हामीसँग बल प्रयोग बाहेक अर्को विकल्प छैन।”
बैंकक पोष्टका अनुसार, बुधबार उबोन राचाथानी प्रान्तको चोङ एनमा सीमाक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा पाँच जना थाई सैनिक घाइते भएका थिए। थाई अधिकारीहरूले ती सुरुङ हालै कम्बोडियाले नियन्त्रणमा राखेको दाबी गरेका छन्।
थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादको लामो इतिहास रहेको छ। यद्यपि, सन् २०११ मा भएको झडपपछि दुई देशबीचको सम्बन्ध प्रायः स्थिर रहँदै आएको थियो। हाल, थाइल्याण्डको सेनाले कम्बोडियाको सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। सन् २०२४ मे महिनामा भएको झडपपछि कम्बोडियाले चारवटा विवादित भूमिको निरूपणका लागि हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा जाने प्रस्ताव राखेको थियो, तर थाइल्याण्डले यो मुद्दामा अदालतको क्षेत्राधिकार अस्वीकार गरेको थियो।

























