भक्तपुर, साउन ८ । भक्तपुरको बोडेमा आज बिहान दुई किशोरीको शव फेला परेको छ, जसको पहिचान सहोदर दिदीबहिनीको रूपमा भएको छ । मध्यपुर ठिमी नगरपालिका-८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेल मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार बिहीबार बिहान पौने सात बजेतिर प्रजापतिको दुई तले ट्रष्टको घरको भुइँ तलामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दिएको जानकारीअनुसार उनीहरू केही समयदेखि सोही घरमा डेरा गरी बस्दै आएका थिए ।
डीएसपी न्यौपानेका अनुसार डेरा कोठाको प्यासेजमा रहेको फलामको डण्डीमा एउटै नाइलनको डोरीमा झुण्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो । घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले दिदीबहिनीले सँगै आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ। यद्यपि, आत्महत्याको कारण भने अनुसन्धान पूरा भएपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

























