काठमाडौं, साउन ७ । सुर्खेतमा एक युवकलाई हनी ट्रयापमा पारेर १४ लाख रुपैयाँभन्दा बढी असुल गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएकी २१ वर्षीया सिन्धु चन्द छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो ।
चन्दमाथि २०८१ भदौमा सुर्खेतको बुलबुले होटलमा एक युवकलाई बोलाएर शारीरिक सम्बन्ध राखेको र सोही विषयलाई लिएर ब्ल्याकमेलिङ गर्दै ठगी गरेको आरोप छ । प्रहरीका अनुसार, बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर उनले पीडित युवकबाट १४ लाख २५ हजार रुपैयाँ असुल गरेकी थिइन् ।
चन्दमाथि आपराधिक एक्सटर्सन (जबर्जस्ती रकम असुली) को कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।





















