काठमाडौं, साउन ७ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बामदेव गौतमले आफूलाई पार्टीमा पदभन्दा काम चाहिएको स्पष्ट पारेका छन् । काम नपाए पार्टीमा लामो समय टिक्न नसक्ने उनले चेतावनी दिएका छन् ।
बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले भर्खरै एकीकृत समाजवादीमा समाहित भएकाले पार्टी नेतृत्वलाई आफ्नो लागि कामका साथै उपयुक्त पद सिर्जना गर्न आग्रह गरेका छन् ।
‘मलाई कुन पद दिने भन्ने कुरा उठेको छ, मलाई पद चाहिँदैन’, उनले भने’, मैले यो पहिले पनि भनिसकेको छु। मलाई काम दिनुहोस् । काम दिनका लागि तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको पद सिर्जना गरिदिनुहोस् ।’
गौतमले कामबिनाको पद आफूलाई कुनै पनि हालतमा नचाहिने र त्यस्तो अवस्थामा पार्टीमा बस्न नसक्ने दोहोर्याए । आफ्नो स्वभावबारे उल्लेख गर्दै उनले भने, ‘यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंसँग बस्न सक्दिनँ । मलाई काम गर्ने क्षेत्र चाहियो ।’
वरिष्ठ नेता गौतमले नेपालको संविधानमा उल्लेखित समाजवाद निर्माण गरी मुलुकलाई विश्वकै विकसित समाजको सूचीमा पुर्याउनुपर्नेमा जोड दिए ।
























