काठमाडौं, साउन ६ । भिजिट भिसा प्रकरणलाई लिएर संसदमा जारी आन्दोलनको समाधान खोज्न सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाका नेतासँग छलफल गरेका छन्। छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाको समेत सहभागिता थियो।
सभामुख घिमिरेले रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गर्दै भिसा प्रकरणका कारण दुवै दल संसदमा सहभागी नभएको भन्दै चिन्ता व्यक्त गरे।
उनले भने, “सरकार र तपाईंहरूबीच संवाद हुन नसक्दा संसद प्रभावित भएको छ। सभामुखका रूपमा मलाई पनि अप्ठ्यारो महसुस भएको छ। जुनसुकै सभामुख भए पनि संसद चलाउनुपर्ने बाध्यता हुन्छ। सरकारले आगामी वर्ष १२१ वटा विधेयक प्रस्तुत गर्ने तयारीमा छ, तर सदन निरन्तर अवरोध हुँदा तिनको भविष्य अन्योलमा पर्छ।”
कानुनमन्त्री चौरसियाले सरकारले प्रमुख विपक्षी दलको सहमतिमा छानबिन समिति गठन गरिसकेको जानकारी दिँदै भने, “सरकारले कसैलाई नजरअन्दाज गर्न चाहेको छैन। रास्वपा र राप्रपासँग संवाद जारी छ। सहमतिमा पुग्न तपाईँहरू पनि केही लचिलो बन्नुहोस्, सरकारले आवश्यक गृहकार्य गरिरहेको छ।”
रास्वपाका डीपी अर्यालले सभामुखले सहमति कायम गर्न निरन्तर पहल गरिरहे पनि सरकारको गैरजिम्मेवारी व्यवहारका कारण समस्या समाधानमा प्रगति नभएको गुनासो गरे।
उनले भने, “हामीले उठाएका मुद्दा गम्भीर छन्। तर सरकारले त्यति नै गम्भीरताका साथ प्रतिक्रिया दिएको छैन। सभामुखले बैठकसमेत सहमतिका लागि स्थगित गर्नुभएको थियो, तर सरकारको पक्षबाट अपेक्षित तदारुकता देखिएन।”
राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले पनि भिजिट भिसा प्रकरणमा उठाइएका प्रश्नलाई सदनमा अझ बलियो रूपमा उठाउने चेतावनी दिँदै भने, “सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनैपर्छ। छानबिन समितिको कामबारे संसदलाई जानकारी नै दिइएको छैन। विपक्षी दलहरू सहमति विना फर्कन सक्ने अवस्थामा छैनन्।”
छलफल भए पनि तीन पक्षबीच सहमति भने हुन सकेन। विपक्षी दलहरूले सरकारको तदारुकता अभाव देखिएको भन्दै संसदमा आफ्नो आन्दोलन जारी राख्ने संकेत दिएका छन्।
























