काठमाडौं, ६ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुशासन प्रवर्द्धन र संस्थागत सुदृढीकरणलाई सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित एशियाली विकास बैंक (एडीबी) को ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी २०२५–२०२९’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
एडीबीको नयाँ रणनीतिले नेपालको विकास आवश्यकतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै उनले यो रणनीति नेपालको १६औं योजनासँग समेत सँगसँगै अघि बढ्ने उल्लेख गरे । अर्थमन्त्री पौडेलका अनुसार रणनीतिले आर्थिक रूपान्तरण, निजी क्षेत्रको विकास र कृषिको आधुनिकीकरणमा ध्यान केन्द्रित गरेको छ ।
यस रणनीतिले गुणस्तरीय रोजगारी सिर्जना गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै उनले जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता मुलुकहरूका लागि प्राप्त हुने सहयोगले दिगो विकासमा सहयोग गर्ने बताए।
नवीकरणीय ऊर्जामा सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै उनले सुशासन, संस्थागत क्षमता अभिवृद्धि र भ्रष्टाचार नियन्त्रणमा ठोस काम हुने प्रतिबद्धता जनाए।
उनले एडीबीलगायत विकास साझेदारहरूसँग सहकार्य गर्दै लगानी प्रवाहमा रहेका अवरोध हटाउने र प्रक्रिया सहज बनाउँदै पारदर्शिता कायम गरिने स्पष्ट पारे।
अन्त्यमा, अर्थमन्त्री पौडेलले एडीबीको रणनीतिले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।























