काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सोमबार अर्थ मन्त्रालयमा हस्ताक्षरित चार द्विपक्षीय समझदारी, र विगतमा भएका उच्चस्तरीय भ्रमणमार्फत स्थापित विकास सहकार्य सम्झौताहरूको कार्यान्वयनबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको लामो इतिहास भएको मित्रवत सम्बन्धको चर्चा गर्दै नेपाल एक–चीन नीतिप्रति दृढ प्रतिबद्ध रहेको दोहोर्याए। उनले हालैको बाढीले क्षति पुर्याएको रसुवागढी नाकामा पुनर्निर्माणका लागि चीनले देखाएको प्राथमिकताप्रति आभार व्यक्त गर्दै, नेपाली पक्षबाट पनि आवश्यक तदारुकता देखाइएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले नेपाललाई भू-परिवेष्टित अवस्थाबाट भू-जडित राष्ट्र बनाउने दिशामा चीनसँगको किमाथांका लगायत अन्य नाकाको प्रभावकारी सञ्चालन र ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (वीआरआई) अन्तर्गतका परियोजनाहरू अबरोधरहित रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
उक्त भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी थिए।
यसअघि सोमबार, चिनियाँ प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग विकास साझेदारी तथा चीनको सहयोगमा सञ्चालित र भावी योजनाहरूका सम्बन्धमा विस्तृत छलफल गरेको थियो। उक्त अवसरमा चार परियोजनामा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
























