जनकपुरधाम । सिरहा सदरमुकामस्थित कारागारमा कैदीबन्दीबीच आपसी झडप हुँदा १३ जना घाइते भएका छन् । झडपमा कारागारका नाइके दीपक ठाकुर, मूलनाइके वरुण महतो र चौकीदार विजय महतोसहित अन्य कैदीहरू घाइते भएका हुन्।
घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पतालमा पठाइएको छ। कारागार परिसर हाल तनावपूर्ण बनेको छ भने स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
सिरहा प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले भने घटनाबारे विस्तृत जानकारी आफूले नपाएको बताए। “म अहिले घाइतेको अवस्था बुझ्न अस्पताल आएको छु, घटनाको आधिकारिक जानकारी सीडीओ सापबाट लिनुहोला,” उनले भने। तर, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसँग सम्पर्क हुन सकेको छैन।
सूत्रका अनुसार, कैदीहरूले सुरक्षालाई असर पार्ने भन्दै इँटासहितका सामग्री कारागारभित्र राखेका थिए। ती सामग्री हटाउने विषयमा विवाद चर्किएपछि झडप भएको जनाइएको छ।
यसअघि शनिबार मात्रै स्थानीय प्रशासनले कारागारमा अवैध गतिविधि भइरहेको भन्दै अनुगमन गरेको थियो। २०० जनाको क्षमता भएको सिरहा कारागारमा हाल ४५८ जना कैदीबन्दी रहेको बताइएको छ, जसले व्यवस्थापनमा थप चुनौती सिर्जना गरिरहेको छ।

























