काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण पहिले नै भइसकेको दावी गदै आज अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रिय राजनीतिबारे मात्र छलफल भएको बताएकी छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग पार्टी मुख्यालय च्यासलमा करिब दुई घण्टा एक्लाएक्लै भेटवार्ता गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भण्डारीले भनिन्, “उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो । सदस्यता नवीकरण त पहिल्यै गरिसकेकी हुँ, बाँकी प्रक्रिया त पार्टीका आधिकारिक च्यानलबाट आउँछ ।”
भेटवार्ता भर्खरै सम्पन्न भएको हो । स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका अनुसार, छलफल समसामयिक राजनीतिक परिस्थितिमा केन्द्रित रहेको बुझिएको छ । तर, अन्य विवरण औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।
भेटपश्चात् दुबै नेताहरू पार्टी कार्यालयबाट बाहिरिसकेका छन् । भण्डारीको सक्रिय राजनीति फर्किने संकेतसँगै भएको यो भेटलाई एमालेभित्रको रणनीतिक समन्वयको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
























