काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज महत्वपूर्ण भेटवार्ता हुँदैछ ।
पूर्वराष्ट्रपति भण्डारी केहीबेरअघि नै पार्टी कार्यालय पुगेकी थिइन् भने अध्यक्ष ओली पनि कार्यालय पुगिसकेका छन् । दिउँसो ३ बजेका लागि तय गरिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण केही समय ढिलो भएको हो ।
भण्डारी केही समयदेखि पार्टी कार्यालयमै ओलीको प्रतीक्षा गरिरहेकी थिइन् । अहिले दुवै नेताहरू वार्ताका लागि तयार भइसकेका छन्, र केहीबेरमै औपचारिक संवाद सुरु हुने अपेक्षा गरिएको छ ।
विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने संकेत दिएको पृष्ठभूमिमा हुन लागेको यो भेटलाई एमालेभित्रको शक्ति सन्तुलन, आगामी भूमिकाको बाँडफाँट र रणनीतिक समन्वयको हिसाबले निकै महत्वपूर्ण मानिएको छ ।
पार्टी कार्यालय च्यासलमा अहिले नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको छ । पार्टीको आगामी रणनीति र भण्डारीको भूमिकाबारे स्पष्ट संकेत दिने सम्भावनाले यो भेटप्रति व्यापक चासो देखिएको छ ।
























