काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा गरिएको कारबाहीविरुद्ध निर्वाचन आयोग पुगेका छन् ।
अध्यक्ष लिङ्देनले आफूलाई पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट अवैधानिक रूपमा पदमुक्त गरेको भन्दै गिरीले आयोगमा औपचारिक उजुरी दर्ता गराएका हुन्। उनी महासचिव डा. धवलशम्शेर राणासहित आफ्ना पक्षका नेताहरूसँग आयोग पुगेका थिए।
गिरीले पार्टीलाई विधान र प्रक्रिया अनुसार चलाउन माग गरेकै कारण कारबाहीमा पारिएको दाबी गर्दै, आफूविरुद्ध गरिएको कदम अनुचित र अन्यायपूर्ण भएको टिप्पणी गरेका छन्।
उनलाई कारबाही फिर्ता लिन राप्रपाभित्रको इतर समूह र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केही पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पनि अपील गरेका छन्।
यसअघि अनुशासन समिति संयोजक नवराज सुवेदीले पनि आफूलाई गरिएको कारबाही अवैधानिक भएको भन्दै आयोगमा उजुरी दिएका थिए। पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएको संकेत यिनै घटनाक्रमहरूले दिएका छन्।
























