काठमाडौँ, साउन ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता हुने भएको छ । भेट दिउँसो ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा तय गरिएको छ ।
हालै सम्पन्न दुईदिने पोलिटब्युरो बैठकमा भण्डारी एमालेको सक्रिय राजनीतिमा प्रवेशबारे उठेको विवाद समाधानका लागि उनीहरूबीच प्रत्यक्ष संवाद आवश्यक रहेको सुझाव अधिकांश पोलिटब्युरो सदस्यले दिएका थिए । सोही सुझावको आधारमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग भेटर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पार्टीको आगामी केन्द्रीय कमिटी बैठक साउन ५ गतेका लागि तय भएकाले त्यसअघि नै भण्डारीको भूमिकासम्बन्धी निर्णय टुंग्याउनुपर्ने दबाब ओलीमाथि परेको छ । सोही म्यान्डेटअनुसार आजको छलफललाई निर्णायक मानिएको छ ।
यस भेटवार्तापछि भण्डारीलाई पार्टीभित्र दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय पनि स्पष्ट हुने अपेक्षा गरिएको छ ।
























